सिलगढी : एनजेपी थाना पुलिसले सिलगढीमा एटीएम फ्रड गर्ने गुटको मुख्य आरोपीलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति बिहारको गोपालगञ्ज निवासी रोहित रजकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो साँझ उक्त व्यक्ति ठगी गर्ने उद्देश्यले लेकटाउन इलाकाको एउटा एटीएम अघि उभिरहेका थिए। सन्देहको आधारमा उक्त व्यक्तिलाई रोकेर सोधखोज गर्दा शंकास्पद जानकारी अघि आउनको साथै विभिन्न ब्याङ्कको 32 वटा एटीएम कार्ड पनि उद्धार गरेको छ। यसपछि पुलिसले उक्त व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिले बताएअनुसार विभिन्न ठाउँहरूमा एटीएम अघि उभिएर ठग्ने योजना बनाउने गर्थे। अवसर पाउन साथ एटीएम कार्ड बद्ली गरेर रुपियाँ निकाल्ने गर्दथे। यसपछि बिहारमा लुकेर बस्ने गर्दथे। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
