सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ

सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ।
उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50 हजार रुपियाँ लुटिएको थियो। चार जना बदमाशहरू एउटा सेतो रंगको कारमा सवार भएर राति लगभग 3 बजे घटनास्थलमा आइपुगेका थिए र लुटपाट गरेका थिए।
त्यस घटनाको ठीक 5 दिनअघि, 13 जूनमा जलपाइगढीको मायानगुडीमा पनि एटीएम लुटको घटना भएको थियो, जसमा लगभग 45 लाख रुपियाँ लुटिएको थियो। उक्त मामिलामा पुलिसले 4 जना बदमाशलाई पक्राउ गरेर 15 लाख रुपियाँ उद्धार गरेको थियो। जाँचको क्रममा थाहा लागे अनुसार, उक्त गिरोहको अर्को समूह सिलगढीको लुटमा संलग्न थियो।
गहन जाँचको क्रममा हरियाणाको मेवात र नूँह जिल्लाका गिरोहहरू यस लुटपाटमा संलग्न रहेको पुलिसले जानकारी पाए। त्यसपछि प्रधान नगर थाना अन्तर्गत पुलिसको एउटा टोली हरियाणा पठाइयो, जहाँ स्थानीय पुलिसको सहयोगमा अभियान चलाएर मोहम्मद खुर्शीदलाई पक्राउ गरियो। खुर्शीदको बयानका आधारमा भक्तिनगर क्षेत्रबाट आज बिहान मोहम्मद इसराइल र जावेद खानलाई पनि पक्राउ गरिएको छ। उनीहरूको बाट लुटिएको लगभग 3 लाख रुपियाँ उद्धार गरिएको छ।
आज तीनै जना आरोपीलाई प्रधान नगर थाना पुलिसले सिलगढी अदालतमा पेस गरेर रिमाण्डमा लिएर थप जाँच गर्ने भएको छ।
यस सम्बन्धमा सिलगढी मेट्रोपोलिटन पुलिसका डेपुटी कमिश्नर विश्वचन्द्र ठाकुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्। डीसीपी-का भनाई अनुसार, एटीएम लुटपाटको योजना मेवाती गिरोहले बनाएको थियो, जुन विशेषगरी ग्यास कटरमार्फत एटीएम लुट्ने कार्यमा संलग्न रहन्छ। यस गिरोहका सदस्यलाई बाकायदा लुटपाटको तालिम दिइन्छ। पुलिसले सीडीआर, टावर लोकेसन तथा गोप्य सूचनाको आधारमा आरोपीहरूलाई पक्राउ गरेको हो। अब आरोपीहरूलाई पुलिस रिमाण्डमा लिएर सम्पूर्ण घटनाको विस्तृत जाँच अघि बढाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *