सिलगढी : (निसं): 350 ग्राम ब्राउन शुगर सहित एउटी महिलालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकी महिला मालदा निवासी लक्ष्मी मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एउटी महिलाले ब्यागमा ब्राउन शुगर बोकेर मालदाबाट सिलगढीमा तस्करी गर्ने उद्देश्य लिएर हिजो मतिगढाको विश्वास कोलनी आइपुगेकी थिइन्। गोप्य सूचनाको आधारमा स्पेशल अपरेशन ग्रुप (एसओजी) र मतिगढा थाना पुलिसले गत राति संयुक्त अभियान चलाएर 350 ग्राम ब्राउन शुगर सहित उक्त महिलालाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको ब्राउन शुगरको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
