सिलगढी : दुर्गा पुजापछि सिलगढी सहरमा प्रतिदिन लगभग 70 जना मानिसहरू कोरोनाले संक्रमित भइरहेको भए तापनि यसलाई लिएर स्वास्थ्य विभागले लापर्वाही गरिरहेको सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले आरोप लगाएका छन्। तिनले बताएअनुसार कोरोना संक्रमित भए तापनि केही मानिसहरू कुनै रोकटोक बिनै सार्वजनिक स्थलमा मनपरी घुमफिर गरेर संक्रमण फैलाइरहेका छन्। यदि चाँडै यसबारे कुनै पहल नगरिए भविष्यमा सिलगढी सहरमा कोरोना भाइरसको संक्रमणले भयानक रूप लिन सक्ने तिनले आशंका व्यक्त गरेका छन्। यसलाई लिएर तिनले आज सिलगढी नगरनिगमका स्वास्थ्य विभागका अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गरे। नगरनिगमको तर्फबाट उक्त बैठकमा केही निर्णयहरू लिएको बताइएको छ। बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले मानिसहरूलाई सतर्क गराउनको लागि अबदेखि संक्रमित मानिसहरूको घरमा “DO’S र DON’TS” लेखिएको बोर्ड लगाइनेछ। यसबाहेक कोरोना संक्रमित व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर आउँदो दीपावलीमा पटेका नपड्काउने तिनले सबैसित अपील गरेका छन्।
