सिलगढीमा करोडौँ रुपियाँको हेरोइन सहित 2 जना पक्राउ

सिलगढी (निसं): सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी) टीमको से नो टु ड्रग्सअभियानले ठुलो सफलता हासिल गरेको छ। एसओजी र एनजेपी थाना पुलिसले संयुक्त अभियान चलाएर लगभग 15 करोड रुपियाँको हेरोइन सहित 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा एमडी जमशेद र मुहम्मद राकिब सामेल छन्। यी दुवै आरोपी उत्तर दिनाजपुर जिल्लाको करणदिघी निवासी निवासी हुन्। प्राप्त जानकारी अनुसार कोलकता एसटीएफले दिएको खबरको आधारमा सिलगढी मेट्रोपोलिटन पुलिसको एसओजी र एनजेपी थाना पुलिसले गत अबेर राति फुलबारीमा अभियान चलाएर कुचबिहार तर्फबाट आइरहेको एउटा मालवाहक ट्रक र पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा दुवै वाहनबाट एक-एक किलो हेरोइन उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले दुवै वाहनको चालकहरूलाई पक्राउ गरेको छ। यस विषयमा सिलगढी मेट्रोपोलिटन पुलिसका एडीसीपी शुभेन्द्र कुमारले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। गत अबेर राति एसओजी र एनजेपी थाना पुलिसले फुलबारीबाट 2 किलो हेरोइन जफत गरेको छ भने जफत गरेको हेरोइनको अनुमानित बजार मूल्य लभगग 15 करोड रुपियाँ रहेको छ। पक्रा परेका 2 जना आरोपीलाई आज अदालतमा पेश गरेपछि सोधखोजको लागि 10 दिनको पुलिस हिरातमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *