सिलगढी, 5 मार्च (निसं): सिलगढी नगर निगमको 10 नम्बर वार्ड महाकाल पल्लीस्थित एउटा घरमा चोरी भएपछि इलाकामा सनसनी मच्चिएको छ। जानकारी अनुसार, प्रतिभा दत्ता आफ्ना छोरा सञ्जयसँग दुई वर्षदेखि यस घरमा भाडामा बस्दै आइरहेकी थिइन्। चार दिनदेखि प्रतिभा आफ्नो दिदीको घर डाबग्राम गएको समय सञ्जय हरेक रात आफ्नो काम सकेर घर फर्कन्थे। तर, उनी गत राती लगभग 9 बजे घर पुग्दा घरको दैलोको ताला फुटाएको र समानहरू जताततै फ्याँकिएको देखेर अचम्म भए। घरको आल्मारी पनि भत्काइएको थियो र त्यसमा राखेको 50 हजार रुपियाँ भन्दा अधिक नगद र सुनका गहनाहरू हराएका थिए। यसपछि घटनाको जानकारी तुरुन्त पानीट्याङ्की आउटपोस्ट पुलिसलाई दिएको छ, तथापि खबर लेखुञ्जेलसम्म कुनै लिखित अभियोग थानामा दर्ता गरिएको छैन। पुलिस घटनाको जाँचमा जुटेको छ।