सिलगढी : सिलगढी महकुमा परिषद् बोर्डले एक वर्ष पुरा गरेको उपलक्ष्यमा आज नक्सलबारीमा कार्यक्रमको आयोजना गरियो। नक्सलबारी बस स्ट्यान्डदेखि नक्सलबारी बीडीओ अफिससम्म रङ्गारङ्ग रैली निकालिइयो। यसपछि नक्सलबारी कम्युनिटी हलमा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा सभाधिपतिले गत 1 वर्षमा महकुमा इलाकामा भएको विकासमूलक कार्यबारे प्रकाश पारे। यस विषयमा सभाधिपतिले भने, यस अवसरमा महकुमाभरिमै 20 हजार रुखका विरुवाहरू रोपियो। गत एक वर्षमा पथश्री परियोजना अन्तर्गत महकुमाभरिमै 47 वटा सडक निर्माण गरियो। पीएचई परियोजना मार्फत् इलाकाको प्रत्येक घरमा पिउने पानीको व्यवस्था गरियो। यसबाहेक महकुमाको 11 वटा ग्राम पञ्चायतमा सलिड वेस्ट म्यानेजमेन्टको कार्य चलिरहेको छ भने रहल 11 वटा ग्राम पञ्चायतमा पनि चाँडै उक्त परियोजना लागू गरिनेछ। आजको कार्यक्रममा उत्तरबंग विकास मन्त्री उद्यन गुह, सिलगढीका मेयर गौतम देव, सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती, सीएडीसी चेयरम्यान अलोक चक्रवर्ती, सिलगढीका पुलिस कमिश्नर अखिलेश चतुर्वेदी, दार्जीलिङका जिल्लाशासक एस पन्नमबलम लगायत महकुमाको 4 वटा ब्लकको पञ्चायत समिति, ग्राम पञ्चायतका प्रतिनिधिहरू उपस्थित थिए।