सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप र भक्ति नगर थानाले सहरको एउटा रासन दोकानको आडमा चलाइरहेको आईपीएल सट्टा बजारको खुलासा गरेको छ। भक्ति नगर थाना अन्तर्गत हैदरपाडाको शिवरामपल्ली इलाकामा एउटा रासन दोकानको आडमा दुई दाजु-भाइले आईपीएलको सट्टा बजार चलाउँदै आइरहेको थियो। यसको खबर पाउनसाथ एसओजी र भक्ति नगर थाना पुलिसले संयुक्त अभियान चलाएर 43 वर्षीय बासुदेव साहालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार बासुदेव साहा र तिनका भाइ मिलेर आईपीएलको सट्टा बजार चलाइरहेको जानकारी पाउन साथ एसओजीले गत साँझ भक्ति नगर थाना पुलिसलाई साथमा लिएर उक्त इलाकामा अभियान चलाए। यस अवधि पुलिसले बासुदेव साहालाई पक्राउ गर्नको साथै नगद लाखौँ रुपियाँ र मोबाइल पनि उद्धार गरेको छ। तथापि, तिनको भाइले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पक्रा परेका आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो। एसओजी सूत्रले दिएको जानकारी अनुसार यस वर्ष आईपीएलको शुरूआतदेखि नै बासुदेव साहा र तिनका भाइले रासन दोकानको आडमा आईपीएलको प्रत्येक टीमको जीत-हार, ब्याट्सम्यान, बलरमाथि लाखौँ रुपियाँको सट्टाबाजी लगाइरहेका थिए। अन्ततः पुलिसले तिनीहरूको उक्त योजना विफल बनाइदिएको छ। यस वर्ष आईपीएलको नाममा सट्टा अनलाइन खेलाइएको छ। यस सट्टाबाजीको खेलमा अझ को-को सामेल छ भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ।
