सिलगढी : आफ्नो मामाको घरमा घुम्न आएको छैटौँ कक्षाकी छात्रा निखोज भएकी छन्। निखोज भएको 48 घण्टा बितिसक्दा पनि हालसम्म तिनको कुनै पत्तो नलागेको बताइएको छ। नन्दिनी राय गरमको छुट्टीमा मयनागढीबाट सिलगढी संलग्न पोरझार इलाकामा आफ्नो मामाको घरमा घुम्न आएकी थिइन्। गत मंगलबार दिउँसो तिनी मामाको घरमा एक्लै थिइन्। यसैको फाइदा उठाएर तिनी घरको देवाल पार गरेर घरबाट निस्केको हुनसक्ने छात्राको परिवारका सदस्यहरूले बताए। नन्दिनीको बोज्युको भनाइअनुसार नन्दिनी स्कुलको छुट्टीमा यहाँ घुम्न आएकी थिइन्। घटनाको दिन घरमा कुनै सदस्य नरहेको साथै घरको मुख्य द्वारमा ताला लगाइएको थियो। नन्दिनीले देवाल पार गरेर घरबाट निस्केको हुनसक्ने तिनले बताइन्। तिनी निखोज भएकोबारे थानामा एउटा लिखित अभियोग दर्ता गरिएको छ। निखोज छात्राकी माइजुले बताएअनुसार नन्दिनी कसैको बहलाई फुस्लाईमा परेर घरबाट यसरी निस्केको हुनसक्छ। घटनाको जानकारी पाएर स्थानीय ग्राम पञ्चायत सदस्य निरन्जन सरकार उक्त घरमा पुगेर परिवारका सदस्यहरूसित भेट गरे। यसको साथै तिनले प्रशासनिक स्तरमा कुराकानी गरेर निखोज छात्रालाई चाँडै खोजी निकाल्ने आश्वासन पनि दिए।
