सिलगढी: सिलगढीको 34 नम्बर वार्डका तृणमूल अध्यक्ष अरूप चक्रवर्तीलाई कुटपीट गरेको अभियोग उठेको छ। उक्त घटनाले इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार गत साँझ 34 नम्बर वार्डको भक्तिनगर इलाकामा घर भाडालाई लिएर झमेला भएको समय अरूप चक्रवर्ती त्यहीँ सडक भएर घर फर्किरहेका थिए। यसपछि तिनी त्यहाँ उभिएर समस्याबारे जान्न खोज्दा केही व्यक्तिहरूले तिनलाई धारिलो हतियारले प्रहार गर्नको साथै कुटपीट गरेको आरोप रहेको छ। अनुहारमा चोट लागेकोले गर्दा तिनले सिलगढी जिल्ला अस्पतालमा गएर उपचार गराएको बताइएको छ। घटनापछि केही व्यक्तिहरूविरुद्ध एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको छ। उक्त घटनामा संलग्न आरोपीहरूलाई पक्राउ गरिनुपर्ने तिनले माग गरेका छन्।
