सिलगढी : सिलगढी नगरनिगमले कोरोना सम्बन्धी रिलिफ फन्ड शुरू गरेको छ। सिलगढी नगरनिगमका प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले आज पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराए। तिनले भने, उक्त रिलिफ फन्डमा मानिसहरूले सहयोग स्वरूप प्रदान गरेको रुपियाँ सहरको आवश्यकमन्द मानिसहरूको लागि प्रयोग गरिनेछ। कोरोना संक्रमित भएर मर्ने परिवारका सदस्यहरूलाई यस फन्डद्वारा सहयोग गरिने तिनले बताए।
तिनले आज आफ्नो पुरानो काउन्सिलर भत्ता 1 लाख 57 हजार रुपियाँ उक्त फन्डमा जम्मा गरे भने आफ्नो तर्फबाट तिनले 11 हजार रुपियाँ उक्त फन्डमा जम्मा गरेको बताइएको छ। यसको साथै नगरनिगमलाई अक्सिजन कन्सेनट्रेटर पनि प्रदान गरे। उक्त अक्सिजन कन्सेनट्रेटर रवीन्द्र मञ्चमा राखिनेछ भने सिलगढी नगरनिगमबाट त्यसलाई मनिटर गरिने गौतम देवले बताए।