सिलगढी (निसं): सिलगढी नगर निगम अनि जयपुरको महावीर विकलाङ्ग सहायता समिति सिलगढीका विकलाङ्गहरूलाई सहयोगको लागि अघि आएको छ। जन्मदेखि नै विकलाङ्ग रहेका, कुनै पनि दुर्घटनामा परेर होस् अथवा जटिल बिमारीको कारण हिडडुल गर्न नसक्नेहरूका निम्ति सिलगढी नगर निगम अनि महावीर विकलाङ्ग सहायता समितिले सहयोगको हात अघि बढ़ाएको छ। सिलगढीको किरण भवनमा आजदेखि एउटा शिविरको आयोजना गरेको छ भने आगामी तीन दिनसम्म चल्ने उक्त शिविरमा शहरका लगभग 400 जनालाई कृत्रिम अङ्ग, व्हीलचेयर अनि ट्राइसाइकल उपलब्ध गराइने पहल शुरू गरेको छ। आज यस शिविरको उद्घाटन सिलगढी नगर निगमका मेयर गौतम देवले गरे। यस अवधि महावीर विकलाङ्ग सहायता समितिका अधिकारी पीआर मेहता, डिप्टी मेयर रञ्जन सरकार, मेयर परिषद माणिक दे, शोभा सुब्बा सहित अन्य बोरो चेयरम्यान तथा पार्षद उपस्थित थिए। यस अवसरमा मेयर गौतम देवले भने, यो शिविर महावीर विकलाङ्ग सहायता समितिको सहयोगमा आयोजित गरिएको हो। यदि कुनै पनि जगा राम्रो ठाउँ पायौ भने यस्तो कार्य स्थायी रूपले गर्नेछौ ताकि दिव्याङ्ग मानिसहरूले नि:शुल्क यस्ता सेवाहरू पाओस्। यसैबीच, नगर निगम अनि महावीर विकलाङ्ग सहायता समितिको यस पहललाई दिव्याङ्गहरूले सराहना गरेको छ।