सिलगढी: सिलगढी सहरमा डेङ्गू संक्रमितहरूको संख्या लगातार बढ्नको साथै डेङ्गुले धेरैजनाको मृत्यु समेत भइसकेको छ। यसैक्रममा डेङ्गूले अझ एकजना सिलगढी नगर निगमका सफाई कर्मचारीको मृत्यु भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार मृतक दिलीप राउत (35) सिलगढी नगर निगम अन्तर्गत 28 नम्बर वार्डको अम्बेडकर कलोनी निवासी थिए। तिनलाई गत 31 अक्टोबर ज्वरो आएपछि तिनका परिवारका सदस्यहरूले सिलगढी जिल्ला अस्पतालमा भर्ना गरेका थिए। त्यहाँ तिनको रगत टेस्ट गर्दा डेङ्गू पोजिटिभ आएको थियो। यसपछि अचानक प्लेटलेट्सको कमी भएपछि तिनलाई उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा रेफर गरिदिएको थियो।

त्यहाँ तिनको स्वास्थ्य अझ बिग्रिँदै गइरहेको थियो भने हिजो बिहान तिनको मृत्यु भयो। यस सम्बन्धमा 28 नम्बर वार्डको तृणमूल पार्षद संप्रिता दासले बताए अनुसार मेडिकलमा प्लेटलेट्स कम भएको कारण तिनलाई 15 बोतल रगत दिएको थियो, जसमा स्वयम् तिनले 4 बोतल रगत जम्मा गरेका थिए। उक्त इलाकामा तिनी मात्र ज्वरोले पीडित रहेको थियो भने अन्य छिमेकीहरू कसैलाई पनि ज्वरो नआएको पार्षद संप्रिता दासले बताइन्। अर्कोतिर, सिलगढी नगरनिगम डेङ्गुको रोकथाम गर्न व्यर्थ रहेको भाजपा नेतृत्वहरूले आरोप लगाउँदै आरहेको छ भने तिनीहरूले नगरनिगमको गेट अघि विक्षोभ प्रदर्शन गर्नको साथै मेयर गौतम देवले पदत्याग गर्नुपर्ने माग समेत गर्दै आइरहेको छ।
