सिलगढी : एसओजी र प्रधान नगर थाना पुलिसले सिलगढी एनबीएसटीसी बस स्ट्यान्डमा संयुक्त अभियान चलाएर 28 किलो गाँजा सहित 3 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा बुबाई घोष, लीला चौधरी र सन्ध्या साहा सामेल छन्। तिनीहरूमध्ये बुबाई सिलगढीको टिकियापाडा निवासी हुन् भने लीला र सन्ध्या 1 नम्बर वार्ड अन्तर्गत ओल्ड मतिगढा रोड निवासी हुन्। जफत गरेको गाँजाको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार पक्रा परेका 3 जना आरोपीले एनबीएसटीसी बस स्ट्यान्ड भित्र 2 वटा ब्यागमा मादक पदार्थ राखेर तस्करी गर्ने योजना बनाइरहेका थिए। गोप्य सूचनाको आधारमा एसओजी र प्रधान नगर थाना पुलिसले संयुक्त अभियान चलाएर एनबीएसटीसी बस स्ट्यान्डमा ती 3 जनासित छानबीन गर्दा 2 वटा ब्यागबाट गाँजा उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार बुबाई घोष मादक तस्करीको मास्टर माइन्ड हो। लगभग 4 वर्षअघि बुबाई घोष मादक पदार्थ तस्करी गरेको आरोपमा पक्राउ भएको थियो। लीला चौधरी र सन्ध्या साहामाथि पुलिसले धेरै समय अघिदेखि नजर राखिरहेको थियो। पक्रा परेका आरोपीहरूलाई भोलि शुक्रबार सिलगढी अदालतमा पेश गरिनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।