सिलगढी नेपाली साहित्य संस्थानद्वारा 30औँ नेपाली भाषा दिवसको उपलक्ष्यमा परावास्तविक कार्यक्रमको आयोजना

सिलगढी : सिलगढी नेपाली साहित्य संस्थानले 30औँ नेपाली भाषा दिवस हिजो परावास्तविक रूपमा पालन गऱ्यो। फेसबुक सामाजिक सञ्जालबाट सिधा प्रसारण गरिएको यस कार्यक्रमको सञ्चालन डा रेमिका थापाले गरेकी थिइन्। नेपाली साहित्य संस्थानले यस वर्ष नेपाली भाषाको प्रशासनिक प्रयोग : परिचर्चाविषयमा परिचर्चा कार्यक्रम राखेको थियो। यस परिचर्चामा त्रिपूरा विश्वविद्यालयका माननीय कुलपति प्रो गङ्गाप्रसाद प्रसाईँ, उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागका वरिष्ठ प्रा मोहन पी दाहाल, अतिरिक्त आयकर आयुक्त सिलगढीका आदरणीय मिलन रुचाल अनि सिक्किम सरकारका विशेष सचिव एवम् प्राथमिक शिक्षा निर्देशक आदरणीय भीम ठटाल अतिथिका रूपमा उपस्थित थिए। प्रशासनिक क्षेत्रमा नेपाली भाषाको के कस्तो स्थिति छ भन्ने मूल विषय लिएर संस्थानले यो कार्यक्रम आयोजन गरेको थियो। शैक्षिक क्षेत्र, प्रशासनिक क्षेत्र अनि राज्य सरकारका तर्फबाट नेपाली भाषाबारे के कस्ता कार्यहरू भइरहेका छन् भन्ने तथ्य बुझ्नु र साधारण समुदायलाई यो कुरा बुझाउनु कार्यक्रमको मूल उद्देश्य रहेको थियो।


नयाँ शिक्षा नीतिबारे राखिएको प्रश्नबारे उत्तर दिँदै माननीय कुलपति महोदय प्रो गङ्गाप्रसाद प्रसाईँले प्राथमिक र उच्च माध्यमिक शिक्षाका लागि अब मातृभाषा तथा क्षेत्रीय भाषामा नै शिक्षा दिने प्रावधान नयाँ शिक्षा नीतिमा राखिएको छ भनी बताए। नेपाली भाषाको मानकीकरणबारे राखिएका प्रश्नको उत्तर दिँदै प्रोफेसर मोहन पी दाहालले नेपाली भाषाको मानकीकरणबारे अहिले पनि काम भइरहेको छ। यो सकारात्मक दिशातर्फ गइरहेको तिनले जानकारी दिए। यसैगरी, आयकर विभागमा अथवा अन्य प्रशासनिक क्षेत्रमा नेपाली भाषाको कस्तो स्थिति छ र त्यहाँ नेपाली भाषाको प्रयोग हुन्छ हुँदैन भन्ने प्रश्नको उत्तर दिँदै अतिरिक्त आयकर आयुक्त मिलन रुचालले आयकर विभाग केन्द्रीय सरकारको अधीनस्थ भएकाले यहाँ मूलतः हिन्दी अनि अङ्ग्रेजीको प्रयोग हुन्छ तर विभिन्न कार्यका लागि र साधारण मानिसलाई आयकरबारे बुझाउन र बताउनका लागि नेपाली भाषाको पनि प्रयोग गरिन्छ भनी बताए। नेपालीहरूले नै प्रशासनिक प्रयोजनका निवेदन पत्र आदि नेपालीमा नलेखी बङ्गला अनि अङ्ग्रेजीमा लेखेर ल्याएको कुरा दृष्टान्त स्वरूप प्रस्तुत गर्दै तिनले कमजोरी हामीमै छ भन्ने सत्य पनि राखे। सिक्किम दार्जिलिङ कालेबुङ र तराई डुवर्सका लागि एउटा नेपाली पुस्तकालयको आवश्यकता भएको र त्यसका लागि पनि विचार गर्नु पर्ने प्रस्ताव प्रो मोहन पी दाहाल अनि प्रो गङ्गाप्रासाद प्रासाईँले राखे भने यसबारे सबैले सहमति जनाए। संस्थानका तर्फबाट डा रेमिका थापाले सबैलाई धन्यवाद दिएपछि कार्यक्रम अन्त गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *