सिलगढी (निसं): सिलगढा लगायत पूर्वोत्तर क्षेत्रको सुरक्षालाई लिएर विशेष नजर राखिएको छ। यदि कसैले पनि देश विरोधी शक्तिलाई अघि बढाउन खोज्यो भने केन्द्र सरकारले त्वारित कठोर कार्वाही गर्नेछ। आज दिल्लीबाट विमानमार्फत बाघडुग्रा विमान अड्डामा आइपुगेपछि केन्द्रीय गृह राज्य मन्त्री निशिथ प्रमाणिकले उक्त मन्तव्य पोखेका हुन्। तिनले पत्रकारहरूसितको कुराकानीमा भने, यदि राज्य सरकार र केन्द्र सरकार मिलेर काम गऱ्यो भने सिलगढी करिडोर, जसलाई भारतको ‘चिकन नेक’ को रूपमा चिनिन्छ, सुरक्षित हुन सक्नेछ। तिनले कोरोनाको नयाँ भेरिएन्टलाई लिएर भने, भारतका प्रधानमन्त्रीको निर्देशानुसार गत 2 वर्षदेखि हामी कोरोनासित लडिरहेका छौ। हाम्रो फ्रन्टलाइन वर्कर्सहरूले अत्याधिक सावधानीको साथमा काम गरिरहेका छन्। हामी सबै कोरोनालाई लिएर सतर्क छौ। टीकाकरण अनि बुस्टर खुराक अगावै सबैजसोलाई दिइसकेको छ। यसको साथै तिनले सबैलाई यसबारे सतर्क रहने सल्लाह पनि दिएका छन्।
