सिलगढी सहरमा अबेर रातिसम्म पुलिसको नाका चेकिङ शुरू

सिलगढी : मुख्यमन्त्रीको निर्देश अनुसार सिलगढी मेट्रोपलिटन पुलिसले अबेर रातिसम्म सहरमा नाका चेकिङ शुरू गरेको छ। यसको साथै रातिको समय पुलिसले सहरको प्रत्येक चेपचाप ठाउँहरूमा समेत कठोर नजर राखिरहेको छ। रातको समय आवत-जावत गर्ने सबै वाहनहरू तथा बाइक स्कुटीहरूलाई रोकेर छानबीन गर्ने कार्य भइरहेको छ। तेस्रोपल्ट राज्यको सत्ता सम्हालेपछि हालै उत्तर बङ्गालको भ्रमणमा आउँदा मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढीको उत्तरकन्या मिनी सचिवालयमा प्रशासनिक बैठक अवधि पुलिसलाई कठोर निर्देश दिँदै सिलगढी सहरलाई विशेष रातको समयमा पनि नजर राख्ने निर्देश दिएकी थिइन्। सिलगढी चिकन नेक रहेकोले गर्दा योसित छिमेकी तीनवटा देशको सीमा जोडिएकोले गर्दा धेरै महत्वपूर्ण रहेको बताएकी थिइन्। यसबाहेक हालैमा केएलओ संगठन फेरि सक्रिय बन्न पुगेकोले पुलिस यसलाई लिएर अलर्ट देखिन्छ। मुख्यमन्त्रीले मेट्रोपलिटनका कमिश्नर गौरव शर्मा तथा नर्थ बेङ्गल आईजी देवेन्द्र प्रसाद सिंहलाई सिलगढी सहरलाई केही तत्वहरूले अशान्त गर्ने प्रयास गर्न सक्छ यसैले यसको निम्ति चौबीसै घण्टा कठोर नजर राख्ने निर्देश दिएकी थिइन्। यसबाहेक अपराधिक घटनाहरूलाई अन्जाम दिनको लागि पुलिस, एम्बुलेन्स र प्रेसको नकली स्टिकरको उपयोग गर्न सक्ने आशंका व्यक्त गर्दै यस्ता मानिसहरूलाई चिन्हित गर्नु जरूरी रहेको कुरा मुख्मन्त्रीले बताएकी थिइन्। यसैले गर्दा सिलगढीको भक्तिनगर थानाले विशाल पुलिस वाहिनीको साथमा गत अबेर रातिसम्म यहाँको चेकपोस्टमा नाका चेकिङ अभियान चलाएको बताइएको छ। यस अवधि विशेष गरेर सिक्किम तथा पहाडबाट आउने प्रत्येक वाहनहरूलाई गहन जाँच गरेपछि मात्रै छोडेको पुलिस सूत्रले जनाएको छ। सिलगढी सहरको विभिन्न ठाउँहरूमा अबदेखि पुलिसको चौबीसै घण्टा कठोर नजरदारी रहने कुरा बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *