सिलगढी : कोरोना महामारीको समयमा सहरमा कानुन व्यवस्था बनाइ राख्नको साथै आवश्यकमन्द मानिसहरूको सहयोगको लागि सिलगढी मेट्रोपोलिटन पुलिसले अहम भूमिका निर्वाह गरिरहेको छ। अर्कोतिर, सिलगढी थानाको सीसीटीभी कन्ट्रोल रूमका पुलिस एसआई सत्येन रायले आफ्ना सहकर्मी पुलिसहरूसित मिलेर अढ़ाई वर्षीय शिशु आबीर चक्रवर्तीको उपचारको लागि सहयोगको हात बढाएको छ। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको 38 नम्बर वार्डको सुकान्तो नगर इलाका निवासी नील चक्रवर्तीको अढ़ाई वर्षीय छोरा आबीर चक्रवर्ती लगभग डेढ़ महीनाअघि घरको छतबाट झर्दा गम्भीर रूपमा घाइते भएका थिए भने हालसम्म अचेत अवस्थामा रहेको उक्त नानीको अस्पतालमा उपचार चलिरहेको छ। उपचारको लागि 7 लाखभन्दा अधिक रुपियाँ खर्च भए तापनि उक्त नानीको स्वास्थ्यमा हालसम्म कुनै सुधार नआएको बताइएको छ। यसैले अस्वस्थ्य नानीको सटीक उपचारको लागि बाहिर लैजान परेकोले असहाय बाबुले सोशल मीडियामा आफ्नो छोराको उपचारको लागि सबैसित सहयोगको अपील गरेका थिए। यसपछि सिलगढी थानाको सीसीटीभी कन्ट्रोल रूमका पुलिस एसआई सत्येन राय लगायत कन्ट्रोल रूमका सबै पुलिस कर्मीहरूले आज उक्त नानीको सहयोग गर्ने उद्देश्यले आफ्नो वेतनबाट केही धनराशि जम्मा गरेर बाबु नील चक्रवर्तीलाई सुम्पिदिएको छ। अस्वस्थ नानीको काका गोपाल चक्रवर्तीले उक्त सहयोगको लागि सिलगढी थानाको सीसीटीभी कन्ट्रोल रूमका पुलिसप्रति आभार प्रकट गरे। अर्कोतिर, काका गोपाल चक्रवर्तीले आफ्नो भतिजाको सटीक उपचारको लागि बाहिर लैजान धेरै धनराशिको आवश्यकता हुने भएकोले यदि कुनै महानुभवले सहयोग गर्न चाहेको खण्डमा 98323-80584-मा सम्पर्क गर्ने अपील गरेका छन्।