सिलगढी : हिल तृणमूल कङ्ग्रेस सिन्कोना लेबर युनियन र हिल तृणमूल सिन्कोना हेल्पर्स एसोसिएसनका प्रतिनिधिहरूले सिन्कोना श्रमिकहरूको विभिन्न समस्याहरूलाई लिएर हिजो साँझमा सिलगढीको सर्किट हाउसमा श्रम मन्त्री बेचाराम मन्नासित भेट गरेर कुराकानी गरे। विशेष गरेर भेट अवधि सिन्कोना निर्देशालय अधीनस्थ रहेको श्रमिकहरूको दैनिक हाजिरालाई चाँडो बढोत्तरी गरिनुपर्ने तथा सिन्कोना निर्देशालयको नियुक्त अधिनियम अनुरूप ग्रुप डी-का कर्मचारीहरूलाई यथाशीघ्र पदोन्नति गरिनुपर्ने माग गरिएको बताइएको छ। उक्त विषयलाई श्रम मन्त्रीले ध्यानपूर्वक सुनेर सकारात्मक पहल गरिदिने प्रतिनिधि मण्डललाई आश्वासन दिएको छ। उक्त टोलीमा हिल तृणमूल लेबर युनियनका सभापति सन्तोष खवास, नवीन मिश्र, सञ्जय थापा, डीएस राई अनि हिल तृणमूल सिन्कोना हेल्पर्स एसोसिएसनका सभापति सञ्जीब तामाङ, कार्यकारी सचिव नीम दोर्जी योञ्जन लगायत सञ्जय तामाङ, किसन प्रधान, अभिमन्यु गुरूङ आदिको उपस्थिति रहेको थियो।
