सिटोङको ज्ञानकुञ्ज एकाडेमीलाई बङ्ग्ला सिने कलाकारद्वारा सहयोग गर्ने आश्वासन

खरसाङ : खरसाङ महकुमा अन्तर्गत सिटोङ अनि संलग्न क्षेत्रका विद्यार्थीहरूलाई कम खर्चमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर सन् 2008 मा स्थापना गरिएको सिटोङ ज्ञानकुञ्ज सोसियल वेलफेयर सोसाइटीद्वारा सञ्चालित पाठशाला ज्ञानकुञ्ज एकाडेमीलाई बङ्ग्ला सिने उद्योगका कलाकार एवम् गायक साहेब च्याटर्जी अनि साई राम विल हेल्प चेरिटेबल ट्रस्ट-ले धेरैवटा सहयोग गर्ने वचन दिएको छ। शिक्षक दिवसको अवसरमा पाठशालाका नानीहरूसित समय बिताउँदै प्रमुख अतिथि साहिब च्याटर्जी, विशिष्ट अतिथि ट्रस्टका अध्यक्ष सुब्रतो माझी, कोषाध्यक्ष अमीत मुखर्जी, ख्यातिप्राप्त सिनेमेटोग्राफर विप्लव दास रोय लगायत दस जनाको टोलीले स्कुल भवनको वर्तमान अवस्था निरीक्षण गरेपछि नयाँ भवन निर्माण गरिदिने वचन दिएका छन् भने लकडाउन अवधि विगत लामो समयदेखि प्रयोग नभएका डेस्क-बेञ्चहरू मक्किसकेकोले गर्दा नयाँ बनाउनुपर्ने अवस्था देखेपछि उक्त कार्य पहिला गरिदिने प्रतिश्रुति दिएका छन्।


 

सिटोङ क्षेत्रका समाजसेवी विक्रम राईको पहलमा सोसाइटीका अध्यक्ष एवम् सिटोङ ट्राइबल माध्यमिक शिक्षा केन्द्रका प्रधान शिक्षक बीएम राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा ट्रस्टको तर्फबाट तीनवटा कम्प्युटर सेट अनि प्रिन्टर ज्ञानकुञ्ज एकाडेमीलाई प्रदान गरियो। यसबाहेक ट्रस्टको तर्फबाट गत अगस्त महिनादेखि पाठशालालाई मासिक दस हजार रुपियाँको आर्थिक सहयोग प्राप्त भइरहेको पनि पाठशाला पक्षले जनाएको छ। कार्यक्रममा स्थानीय सामाजिक कार्यकर्ता पीबी मल्लडिगेल लेप्चाएसएम राईअनिल मगर लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो। यस अवसरमा पाठशालाको पक्षमा साई राम विल हेल्प चेरिटेबल ट्रस्ट, समाजसेवी विक्रम राई लगायत सबै शुभचिन्तकहरूमा सोसाइटीका उपाध्यक्ष प्रकाश राईले धन्यवाद ज्ञापन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *