मङपु : मङपुको सिटोङ सिन्कोना बगानमा गत राति लोग्नेले आफ्नै स्वास्नीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार सिटोङ सिन्कोना बगान निवासी 50 वर्षीय अम्बर राईले आफ्नै स्वास्नी विनय राई (45) लाई गत राति धारिलो हतियारले घाँटी रेटेर हत्या गरेर टाउको झुन्डाइ दिएको बताइएको छ। उक्त घटनाको जानकारी पाएर आज बिहान सेभोक पुलिस घटनास्थलमा पुगेर हत्यारा लोग्नेलाई पक्राउ गरेको छ। यसको साथै मृतक स्वास्नीको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिएको छ। स्थानीय मानिसहरूले दिएको जानकारीअनुसार हत्यारा अम्बर राई अनि मृतकको दुई छोरीहरू छन् भने हाल तिनीहरू अन्य राज्यमा कार्य गरिरहेका छन्। यसैगरी, तिनीहरूको एउटा छोरा घटनाको समय घरमा नरहेको थाहा लागेको छ।
