खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत सिटोङ एक सुदुङ महिला बहुउद्देश्यीय प्राथमिक सहकारी समिति लिमिटेडको आयोजना अनि हेडेन हल सामाजिक संस्था, दार्जीलिङको तत्वावधानमा क्षयरोग सम्बन्धी सचेतना कार्यक्रम सिटोङ एक लोवर छम्बी सार्वजनिक भवनमा सम्पन्न भयो। कार्यक्रममा हेडेन हलको तर्फबाट कार्यकर्ता सुनिता थापा अनि सहायक मेनुका राईले उपस्थित समूहलाई क्षयरोग, क्षयरोग सम्बन्धी जनसाधारणको धारणा, सरकारको योजना अनि क्षयरोग उन्मुलन सम्बन्धी विविध जानकारीहरू राखेका थिए। यसका साथै संस्थाले मातृ-शिशु सेवा, शिक्षा अनि आय आर्जन सम्बन्धी जानकारी, तालिम अनि सेवा प्रदान गर्दै आइरहेको साथै प्रेम अनि सेवाको माध्यमबाट महिला सशक्तीकरण संस्थाको उद्देश्य रहेको पनि उनीहरूले जानकारी गराए। कार्यक्रममा आशाकर्मी, विभिन्न संघ-संस्था, समाजका प्रतिनिधि अनि सदस्य साथै सुदुङ महिला बहुउद्देश्यीय प्राथमिक सहकारी समिति लिमिटेड अन्तर्गतका स्व-सहायता समूहका पदाधिकारी साथै सदस्यहरू उपस्थित थिए।