सोनादा: सोनादादेखि केही मुनि पर्ने नयाँ कमान सिमानाटारका मानिसहरूले आफ्नै खर्चमा सड़क निर्माणको कार्य थालेका छन्। यस क्षेत्रमा धेरै राजनैतिक नेताहरू आए। धेरैले सड़क निर्माणको लागि नरिवलहरू फुटाएर शिलान्यास गरे तापनि सड़क निर्माण भने कसैले गरेनन्। अनन्त: सिमानाटारवासीहरूले आफ्नै खर्चमा सड़क निर्माणको कार्य शुरु गरेका छन्। यस विषयमा नयाँ कमान सिमानाटारका सुनिल शर्माले पत्रकारहरूसित कुराकानी गर्दै सोनादादेखि केही मुनि पर्ने नयाँ कामन सिमानाटार गाउँमा हामीले लामो समयदेखि सड़क निर्माणको माग गरिरहे तापनि हालसम्म सड़क निर्माणको कार्य नभएकोले गाउँलेहरूले धेरै समस्याहरू झेल्दै आइरहेका छन्। यहाँका राजनैतिक नेताहरूले सड़क निर्माणको लागि शिलान्यास गर्दै नरिवल फुटाए तापनि सड़क निर्माण नभएको तिनले गुनासो पोखेका छन्। यो बाटोको लागि बजट पारित भइसकेको सुन्नुमा आए तापनि बाटो खनेर त्यत्तिकै राखेको कारणले गर्दा नानीहरू र बुजुर्गहरूलाई हिँड़न धेरै असुविधा भइरहेकोले हामी कमानमा दैनिक हाजिरामा काम गर्नेहरूले अर्थ संकलन गरेर आफूहरूले सड़क निर्माणको कार्य थालेको तिनले बताए। चुनाउ आएपछि नेताहरूले केवल आश्वासन मात्र दिने गरेको र सम्बन्धित विभागले पनि वास्तै नगरेको तिनले जनाएका छन्।
