सोनादा: अविरल वर्षाको कारण अप्पर सोनादा डाँडा गाउँमा अवस्थित टाँशी छोइलिङ गुम्बा परिसरमा भीषण पैह्रो गएको छ। पैह्रोको कारण सडक मार्ग समेत अबरुद्ध बनेको छ। उक्त सडक मार्ग राष्ट्रिय राज मार्ग 55 सँग जोडिएको छ भने यस सडक मार्ग अप्पर चटकपुर, जोनसोन हट्टा, डाँडा गाउँका स्थानीय वासिन्दाहरुको निम्ति एक मात्र वैकल्पिक सडक मार्ग हो। राष्ट्रिय राजमार्ग 55 दिलाराम, टुङमा पैह्रो गयो भने दार्जिलिङबाट यातायात गर्नको निम्ति अप्पर सोनादाको यस सडक मार्ग वैकल्पिक रूपमा लिइने गरेको स्थानीय वासिन्दाहरूले जानकारी दिएका छन्। अचानक आएको उक्त पैह्रोको कारण स्थानीय वासिन्दाहरू त्रासित बन्न पुगेका छन्।

स्थानीय वासिन्दाहरुको तर्फबाट प्रभात छेत्रीले सम्बन्धित विभागहरुले यथाशीघ्र सरकारद्वारा पाउन पर्ने साहुलियत प्रदान गरुन् साथै सुरक्षाको निम्ति चाडैं देवाल लगाइदिने अपिल गरेका छन्। तिनले थप जानकारी दिँदै गत सालमा पनि गुम्बा परिसरमा पैह्रो गएपछि विभागबाट इञ्जिनियर घटनास्थलमा आएर केवल नाप्ने कार्य मात्र गरिएको बताए। जानकारी अनुसार पैह्रोको कारण गुम्बाको भान्सा घर चर्किएको छ भने कुनै पनि समयमा ठूलो दुर्घटना हुन सक्ने भएकोले पैह्रो वरिपरिका घरहरुलाई पनि खतरा रहेको छ। यसैले विधायक, सांसद साथै सम्बन्धित विभागले चाँडो भन्दा चाँडो यसबारे पहल गरिदियोस् भनी अप्पर सोनादा टाँशी छोइलिङ बौद्ध गुम्बाको पक्षमा स्थानीय मानिसहरूले अपील गरेका छन्।
