सोनादामा चटकपुर हिमालयन ट्याक्सी एसोसिएसन गठन

सोनादा : पर्यटन व्यवसायलाई अधिक मात्रामा बढ़ाएर लैजान तथा पर्यटन व्यवसायमार्फत् यहाँको बेरोजगारहरूलाई रोजगार प्रदान गर्ने उद्देश्य लिएर सोनादामा चटकपुर हिमालयन ट्याक्सी एसोसिएसन गठन गरिएको छ। उक्त संगठन सोनादा क्षेत्रका चालकहरूलाई लिएर गठन गरिएको छ भने यस संगठनलाई पश्चिम बंगाल सरकारको सोसाइटी एक्ट अनुसार रेजिस्टर गराएर कार्य थालिएको जानकारी प्राप्त भएको छ। यस कमिटीमा मोठ 16 जना कार्यकारी सदस्यहरू रहेको छ, जसमा सभापति रबि तामाङ, सचिव अमृत प्रधान, कोषाध्यक्षमा रोशन तामाङ, सल्लाहकार खर्कबहादुर मंगर लगायत अन्य कार्यकारी सदस्यहरू रहेका छन्।


सभापछि पत्रकारहरूसित कुराकानी गर्दै चटकपुर हिमालयन ट्याक्सी एसोसिएसनका सचिव अमृत प्रधानले सोनादा क्षेत्रमा पर्यटन व्यवसायलाई अझ अधिक मात्रामा प्रमोट गरेर लैजान तथा होम स्टे स्थापनाको लागि सम्भावना रहेका स्थानहरूमा होम स्टे निर्माण गरेर यस क्षेत्रका बेरोजगारहरूलाई रोजगार प्रदान गर्ने प्रमुख उद्देश्यको साथमा यो चटकपुर हिमालयन ट्याक्सी एसोसिएसन गठन गरिएको बताएका छन्। तिनले हाम्रो उद्देश्य भनेको नै सोनादा क्षेत्रमा अधिक मात्रामा पर्यकहरू भित्र्याउनु र यस क्षेत्रको सुन्दर स्थानहरूलाई पर्यटन क्षेत्रको रुपमा विकसित गर्नु रहेको बताए। त्यसरी नै यस क्षेत्रका पर्यटनसित सम्बन्धित व्यक्तिहरू र होम स्टे एवम् टुर एण्ड ट्राभल्ससित सम्बन्धितहरूको गाड़ीको कुनै समस्या भए एसोसिएशनसित सम्पर्क गरिदिने पनि तिनले आह्वान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *