सुकेपोखरी: जोरबङ्गलो सुकेपोखरी खण्ड विकास कार्यालयको तत्वावधानमा सुकेपोखरीमा फोहोर व्यवस्थापन अनि यस सम्बन्धित सूचना अभिवृद्धि विषय लिएर सभा सम्पन्न गरियो। सुके सिमाना ग्राम पञ्चायत अन्तर्गत सुकेपोखरी बजारका सबै समाज, सङ्घ- संस्थाका प्रतिनिधिहरूलाई लिएर सुकेपोखरी बजारको ठोस फोहोर व्यवस्थापन बिषयमा गरिएको सभामा खण्ड विकास कार्यालय अनि स्वच्छ भारत मिशन ग्रामीण अन्तर्गत सुकेपोखरी बजारमा निर्मित ठोस, तरल फोहोर व्यवस्थापन युनिटलाई सञ्चालन गर्न गठित कमिटी सुकेपोखरीको सबै समाजलाई सम्मिलित गर्न कार्यशाला सम्पन्न गरियो। फोहोर व्यवस्थापनको निम्ति कार्य गरिरहेका समन्वयक फुर्वा छिरिङ शेर्पाले सञ्चालन गरेको सभामा संयुक्त खण्ड विकास अधिकारी नुरपन्दी लेप्चाले खण्ड विकास कार्यालय अनि स्वच्छ भारत मिशन ग्रामीण अन्तर्गत सुकेपोखरीमा निर्माण गरिएको ठोस फोहोर व्यवस्थापन एसएलडब्लुएम युनिट अनि यसको व्यवस्थापन बारे कार्यालय अनि स्वच्छ भारत मिशन ग्रामीण विभागको परियोजना बारे सभामा अवगत गराए। सभामा खण्ड विकास अधिकारी सामीरूल इस्लामले सुकेपोखरीलाई स्वच्छ अनि सफा राख्न सबै मिलेर अघि आउने अनुरोध गर्दै सुकेपोखरीको फोहोर व्यवस्थापनलाई लिएर खण्ड प्रशासन गम्भीर रहेको बताउँदै यसलाई सठिक व्यवस्थापन गर्न विभागले योजना बनाएर कार्य गर्ने जानकारी गराए। सभाको दोस्रो चरणमा सुचना अभिवृद्धि अनि सचेतना कार्यक्रम आयोजना गरियो। फोहोर व्यवस्थापन अनि जिरो वेस्ट हिमालयले गरिरहेको कार्यबारे रोशन राईले सभामा उपस्थित प्रतिनिधिलाई अवगत गराए।
