पानीघट्टा: मिरिक खण्ड अन्तर्गत सुकुना पानीघट्टा समष्टिमा 1528 परिवारको निम्ति 6.69 करोड रुपियाँको लागतमा बनिने हर घर जल योजनाको आज पानीघट्टामा आयोजित एउटा कार्यक्रमबीच जीटीए प्रमुख कार्यपाल अनित थापाले शिलान्यास गरे। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय समष्टिका सभासद परेश तिर्कीले भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोली बन्दुकको गोली हो। हामीले जुन कुराको वचन दिएका थियौ त्यो पूरा गर्दैछौं।
एक्जिक्युटिभ इञ्जिनियर खरसाडका मणिरत्न मंग्रातीले जानकारी दिए अनुसार हर घर जल योजना अन्तर्गत पन्थबारीमा 0.91 करोड (134 घर), पानीघट्टामा 2.74 करोड (1,222 घर) अनि रङ्गमोहनमा 3.04 करोडको (172 घर) लागतमा सञ्चालन हुने योजनाको आवन्टन गरिएको छ। योजनाले मोठ 1528 परिवारलाई घर-घरमा पानीको नल मार्फत पिउने पानी उपलब्ध गराउनेछ। योजनाको कुल लागत 6.69 करोड रुपियाँको रहनेछ। योजनाको कार्य भोलिदेखि नै सुरु हुने तिनले बताएका छन्।