सिलगढी : सिलगढीको विभिन्न ठाउँहरूमा शुभेन्दु अधिकारीको फोटो लगाइएको ब्यानरहरू लगाइएको छ। उक्त ब्यानरमा बङ्ग्ला भाषामा हाम्रो गौरव, हामी दादाको अनुगामी अर्थात् आमरा गर्वित, आमरा दादार अनुगामी लेखिएको छ। तर उक्त ब्यानरमा कहीँ कतै पनि तृणमूल कांग्रेसको नाम उल्लेख गरिएको छैन। यसैले गर्दा नै उक्त ब्यानरलाई लिएर बजारमा विभिन्न अड्कलहरू लगाउन शुरू भएको देखिँदैछ। परिवहन मन्त्री शुभेन्दु अधिकारीलाई लिएर तृणमूल कांग्रेसदेखि लिएर अन्य राजनीतिक दलहरूमा समेत हाल तीव्र चर्चा चलिरहेको छ। केही मानिसहरूको भनाइअनुसार शुभेन्दु अधिकारीले अब तृणमूल कांग्रेस छोड़ेर नयाँ पार्टी गठन गर्ने अथवा अन्य पार्टीमा सामेल हुनेछन्। तथापि, यसलाई लिएर कुनै आधिकारिक पुष्टि हालसम्म भएको छैन। स्वयम् शुभेन्दु अधिकारीले पनि यसलाई लिएर मुख खोल्न चाहेका छैनन्। यस्तो विषम परिस्थितिमा तिनका समर्थकहरूले राज्यको विभिन्न जिल्लाहरूमा ब्यानर तथा पोस्टरहरू लगाइरहेको बताइँदैछ। यसभन्दा दुई दिनअघि जलपाईगढीमा पनि यस प्रकारको ब्यानर लगाइएको थियो। यसपल्ट सिलगढीको थाना मोड़, हाँसमी चोक लगायत अन्य केही स्थानहरूमा यस प्रकारको ब्यानर तथा पोस्टरहरू लगाइएको छ। यी पोस्टर तथा ब्यानरहरू कसले लगाएको हो भन्नेबारे हालसम्म थाहा लागेको छैन। प्राप्त जानकारीअनुसार केही दिन अघि सिलगढीका केही तृणमूल कांग्रेसका समर्थकहरू शुभेन्दु अधिकारीसित भेट गर्न गएका थिए। यसपछि नै गत राति सिलगढी सहरमा पनि पोस्टर तथा ब्यानर देखापरेको छ। जिल्ला तृणमूल अध्यक्ष रञ्जन सरकारले बताएअनुसार पार्टीको कुनै पनि नेताको नाममा ब्यानर तथा पोस्टर लगाउन सकिन्छ। यसले कुनै असुविधा छैन तर अनावश्यक विषयलाई लिएर मानिसहरूले चर्चा गरिरहेका छन्। तथापि, शुभेन्दु अधिकारीका समर्थकहरूले यस प्रकारको ब्यानर लगाएर के भन्न चाहेका हुन् भन्नेबारे राजनीतिक खेमामा हाल चर्चाको विषय बनेको छ।
North Bengal, Siliguri, Uncategorized
शुभेन्दु अधिकारीको फोटो लगाएका ब्यानरहरू सिलगढी सहरमा देखापरेपछि राजनैतिक माहौलमा चुर्लियो चर्चा
05
Nov
Nov