सिलगढी : स्वास्नी र नानीलाई कुटपीट गर्नको साथै मार्ने समेत धम्की दिएको लोग्ने राजु दास विरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारी अनुसार पिङ्की दास सिलगढीको तीनबत्ती मोड़ इलाका निवासी हुन् भने तिनको लोग्ने राजु दास सिपाहीपाड़ा इलाकाको चतुरागछ निवासी हुन्। राजु दास विविध अपराधिक मामिलामा संलग्न रहेकोले तिनकी स्वास्नी धेरै वर्ष अघिदेखि अलग्गै बस्दै आइरहेकी थिइन्। तिनको दुईजना नानी छन् भने केही महिना अघि राजुले जबरजस्ती एकजना छोरालाई आफूसित लगेका थिए। गत बिहिबार राति पिङ्की छोरालाई भेट्न लोग्ने राजुको घरमा जाँदा तिनले धारिलो हतियार देखाएर कुटपीट गरेपछि तिनी आफ्नो ज्यान बचाउन छिमेकीको घरमा शरण लिन पुगिन्। तथापि, त्यहाँ नै पुगेर राजुले स्वास्नीलाई अझ कुट्नको साथै दुईजना नानी लगायत छिमेकी दुई महिलालाई पनि मार्ने धम्की दिएको बताइएको छ। यसको साथै छिमेकी घरमा तोडफोड पनि गरे। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगे तापनि राजुले घटनास्थलबाट सुइँकुच्चा ठोके। घटनास्थलबाट पुलिस फर्किएपछि फेरि आएर राजुले छिमेकीलाई मार्ने धम्की दिएकोले गर्दा तिनीहरू औधी डराएका छन्। स्वास्नी पिङ्की दासले आज लोग्ने राजु विरुद्ध एनजेपी थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।
