खरसाङ: खरसाङ थाना अन्तर्गत तीनधारे पुलिस आउट पोस्टको आयोजनामा 75औं स्वतन्त्रता दिवस पालन गरियो। यस अवसरमा तीनधारेको 20 माइलदेखि चिल्ड्रेन पार्कसम्म नानीहरूलाई लिएर म्याराथनको पनि आयोजना गरियो। केटा र केटीहरू गरेर दुईवटा क्याटोगरीमा लगभग 4 किलोमीटरसम्मको दूरीको म्याराथन दौड़को आयोजना गरियो। उक्त म्याराथन दौड़मा 23 जना केटाहरू र 8 जना केटीहरूले अंश ग्रहण गरेका थिए। केटाहरूको म्याराथनमा प्रेमित सेवा प्रथम, सक्षम राई दोस्रो, प्रयास थापा तेस्रो अनि केटीहरूमा प्रथम लाजीन तामाङ, दोस्रो स्मृति शर्मा र तेस्रो रिधि रावत भएका छन्।

म्याराथन कार्यक्रम अघि बिहान तीनधारे पुलिस आउट पोस्टमा बड़ा बाबु सागर प्रधानको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरेर स्वतन्त्रता दिवस पालन गरियो। म्याराथनपछि पुलिस आउट पोस्टमा पारितोषिक कार्यक्रम समारोह सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता उत्तम शर्माले गरेका थिए। कार्यक्रममा बड़ा बाबु सागर प्रधानले स्वागत सम्भाषण राखेका थिए भने नवराज छेत्रीले वक्तव्य राखेका थिए।
