दार्जिलिङ: पहाडको विभिन्न ठाउँहरूबाट राजनैतिक पार्टी त्यागेर हाम्रो पार्टी-मा सामेल हुने क्रम जारी देखिन्छ। यसैक्रममा तकदाह टिस्टा भेल्ली समष्टीको नामरिङ चियाबारीको नयाँ धुराका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र गोजमुमो नेतृत्वहरू लगायत समर्थकहरू एक सय भन्दा अधिकले पार्टी त्यागेर हाम्रो पार्टी-को झण्डा समाए। ती सबै नेतृत्व अनि समर्थकहरूलाई हाम्रो पार्टी-का को-अर्डिनेटर सन्नी सुब्बा, यौवन सुब्बा, प्रबल तामाङ अनि असिम राईले पार्टीमा स्वागत जनाए। नामरिङ नयाँ धुरामा हाम्रो पार्टीको साङ्गठनिक सभामा तकदाह-टिस्टा भेल्ली समष्टीका चीफ को-अर्डिनेटर सन्नी सुब्बाको विशेष उपस्थितिमा नामरिङ नयाँ धुराको भागोप्रमो अध्यक्ष मन कुमार राई, युवा मोर्चा कोषाध्यक्ष रिवाज प्रधान, प्रणित राई लगायत नामरिङको दुईवटा समाजका एक सयभन्दा धेर समर्थकहरूले हाम्रो पार्टीको झण्डा समाए। सभालाई सम्बोधन गर्दै चीफ को-अर्डिनेटर सन्नी सुब्बाले नामरिङ नयाँ धुराको दुईवटा समाजले हाम्रो पार्टीलाई निस्वार्थ भावले समर्थन जनाएकोमा तिनीहरूलाई धन्यवाद दिए। त्यसरी नै यस भेकका भागोप्रमो र गोजमुमो-का नेतृत्वहरूले पनि हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डको सामाजिक कार्य तथा तिनको निस्वार्थ कार्य प्रणालीको प्रशंसा गर्दै हाम्रो पार्टीमा सामेल भइरहेको बताए। तिनले अझ भने, हाम्रो पार्टीले जनतालाई झुक्काएर, अन्धकारमा रखेर कुनै काम गरेको छैन साथै गर्दैन पनि। हाम्रो पार्टीको भिजन स्पष्ट रहेको दावी गर्दै हाम्रो पार्टी गोर्खाल्याण्डको खाँटी पक्षधर रहेको तिनले बताए। हाम्रो पार्टीले आफ्नो संविधानको पहिलो लाइनमा नै छुट्टै राज्यको मुद्दालाई विशेष स्थान दिएको छ भन्ने कुरा उपस्थित भीडलाई अवगत गराए। पहाडमा धेरै राजनैतिक दल अनि नेताहरूको जन्म भयो तर आजसम्म कुनै राजनैतिक दल र नेताहरूले गोर्खाल्याण्डको मुद्दालाई इमान्दारिताको साथमा अघि नबढाएको दावी गर्दै पहाडमा एउटा कुरा अनि दिल्ली पुगेपछि अर्को कुरा गर्ने गरेको तिनले आरोप लगाए।
