खरसाङ : चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत तामसाङ चियाबारीबाट गोरामुमो अनि अन्य राजनैतिक दलबाट 70 घर गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। विगत केही दिन अघि कोरोना संक्रमणको कारण पार्टीका कर्मठ कार्यकर्ता मिलन शेर्पाको निधनमा मौन धारण गर्दै तिनको आत्माको शान्तिको लागि इश्वरसित प्रार्थना गरेर शुरू गरिएको सभामा सामेल भएका 70 घर परिवारलाई दलीय झण्डा प्रदान गरेर गोजमुमो पार्टीमा सामेल गराइयो। तामसाङ चियाबारी मखमली सार्वजनिक भवनमा क्षेत्रिय नेता बवेश राईको अध्यक्षतामा सम्पन्न सभामा तामसाङ लिम्बु धुरा, लोरूङ धुरा, कालु धुरा, सुर्सिङबाट गोरामुमो अनि अन्य राजनैतिक दलबाट 70 घर परिवारले समष्टि अध्यक्ष बीआर राई, महकुमा समिति प्रवक्ता सन्दीप छेत्री, युवा मोर्चा महासचिव अरूण छेत्री, समष्टि नेतृत्वहरू ललित तामङ, सुन्दर राई, निमला तामङ, सुबला राई, विश्वराज लिम्बुको बाहुलीबाट दलीय झण्डा ग्रहण गरे।