जयगाउँ : जयगाउँको लिङ्क रोडमा हिजो अपरान्ह ट्याक्सी चालक शङ्कर कुमार दासको हत्या गरेको आरोपमा ट्याक्सी चालक 30 फुर्बा तामाङलाई अबेर राति दलसिंहपाडाबाट पुलिसले पक्राउ गरेको छ। सुरक्षालाई ध्यानमा राख्दै पुलिसले हत्याको आरोपी फुर्बा लामालाई आज हाँसीमाराबाट सोझै अलिपुरद्वार अदालतमा पठाइदियो। एसडीपीओ एलटी भुटियाले बताएअनुसार हत्याको आरोपीलाई घटना भएको केही समयपछि नै पक्राउ गरेर 302 कानुन धाराअनुसार पुलिसले अदालतमा पठाएको छ। यसैगरी, मृतक शङ्कर दासको शव अलिपुरद्वारमा पोस्टमार्टम गरेपछि पीडित परिवारका सदस्यहरूलाई सुम्पिदिएको छ। हिजो दिउँसै हत्या भएपछि जयगाउँ सहरमा भयको वातावरण सृजना भएको थियो भने हत्या आरोपीलाई पक्रेपछि आज सहरमा शान्ति बहाली फर्किआएको छ। हिजोको घटनालाई लिएर आज बिहान स्थानीय केही आक्रोशित व्यक्तिहरूले माङकिङ गर्दै जयगाउँ बजार बन्द राख्ने आहवान गरेका थिए। यसको साथै जयगाउँ बाङ्गे समाजका सदस्यहरूसहित तृणमूल पार्टीका कार्यकर्ताहरूले जयगाउँ थानामा एसडीपीओ भुटियासँग भेट गरेर जयगाउँ सहरमा बढ्दो असामाजिक तत्वहरू साथै असुरक्षाको माहौललाई रोक्नुपर्ने माग गरेका थिए। जयगाउँ 1 ग्राम पञ्चायत प्रधान विष्णु लामाले बताएअनुसार हाल भारत-भुटान सीमान्त क्षेत्रमा रहेको जयगाउँ इलाकामा उपद्रवीहरूको संख्या दिनहुँ बढिरहेका छन्। विशेष गरेर नशालु पदार्थ सेवन गर्ने तथा अवैध धन्दाहरूले युवकहरूलाई खराब बाटोमा लगिरहेको छ। यहाँको पुलिस प्रशासनले यसबारे ध्यान नदिएकोले गर्दा नै आजसम्म मानिसहरूले विभिन्न समस्याहरूको सामना गर्न परिरहेको पनि तिनले बताए।