खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि सिविटारसम्म पुग्ने सड़कको जीर्णावस्थालाई हेरेर स्थानीय जनताको सुविधाको लागि भनेर मरमति गरिएको छ। उक्त सड़कको मरमति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सिविटार बाघमारा शाखाद्वारा गरिएको छ। सिविटारको तितिरी खेल मैदानदेखि तीनधारेको गोलाईपाखासम्म पुग्ने लगभग 5.5 किलो मिटरको सड़क अहिले अत्यन्तै जीर्णावस्थामा पुगेको छ। सड़कको जीर्णावस्थाले गर्दा स्थानीय जनसाधारण लगायत गाड़ी चालकहरूलाई धेरै असुविधा भइरहेको छ। यसै जीर्णावस्थालाई हेरेर स्थानीयहरूको सुविधाको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा बाघामाराद्वारा कुसाङ लामाको अगुवाइमा मरमति गरिएको बताइएको छ।

विशेष गरेर बाघमारादेखि तीनधारेसम्म पुग्ने सड़कको अत्यन्तै जीर्ण भएको ठाउँतिर माटो बिछ्याएर छाप्ने कार्य गरिएको छ, जसको कारण गाड़ीहरू कुदाउन सुविधा भएको छ। बन्दुके उकालोको सड़कमा माटो बिछ्याउने कार्य गरिएको छ भने यो कार्य अझ जारी रहने छ। यस मरमति कार्य बारे कुसाङ लामाले बताएअनुसार बाटोको जीर्ण अवस्थाको कारण हामीले यो केही समयको लागि मरमति गरिएको हो। तिनले हामीले तीनधारेदेखि सिविटारसम्म पुग्ने सड़क जीर्ण अवस्थामा पुगेको कारण स्थानीयहरूलाई धेरै असुविधा भइरहेको थियो भने चालकहरूले पनि धेरै दु:ख भोग्नु परिरहेको छ। त्यसैले हामीले सम्बन्धित विभागमा निवेदन गरेका छौं र अहिलेलाई स्थानीयहरूको सुविधाको लागि केही समयको लागि यो मरमति कार्य गरिएको तिनले बताएका छन्।
