खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे क्षेत्रको चारवटा बुथ कमिटीको आयोजनामा तीनधारेको महात्मा गाँधी हलमा अन्तर्राष्ट्रिय नारी दिवस पालन गरियो। नारी शक्ति महानदी तीनधारे समष्टिका सचिव भगवती प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई तीनधारे महानदी समष्टिका युवा शक्तिको सचिव सञ्जीव मगरले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका रोजी रानी राई उपस्थित थिइन् भने अतिथिहरूमा घैयाबारी ग्राम पञ्चायत दुईकी सचिव देवन्ती छेत्री, नारी शक्ति तीनधारे महानदी समष्टिका सभापति निरा प्रधान, एएनएमद्वय बिनुराधा खाती (शंकर निवास सेन्टर) र बबिता दास (राजबारी सेन्टर) उपस्थित थिइन्। कार्यक्रममा अन्तर्राष्ट्रिय नारी दिवसको विषयमा ब्लु डाइमण्ड स्कुल तीनधारेको प्राचार्य रबि सुब्बाले वक्तव्य राखे भने स्वागत सम्भाषण तीनधारेको चारवटा बुथ कमिटीका संयोजक नवराज छेत्रीले राखेका थिए।

यसै कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारेको चारवटा बुथ कमिटीको तर्फबाट अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा कार्यरत् एवम् वरिष्ठ नागरिक नारीहरूलाई सम्मान पनि गरियो। कार्यक्रममा विशेष गरेर आँगनबाड़ी कर्मीहरू, आशा कर्मीहरू, स्वनिर्भर समूह र क्लष्टरका प्रतिनिधिहरू, प्राथमिक तह र माध्यमिक तहका शिक्षिकाहरू लगायत 60 वर्ष नाघेका वरिष्ठ नागरिक नारीहरूलाई सम्मान जनाइयो। यसको साथै घैयाबारी ग्राम पञ्चायत दुईको सचिव, नारी शक्ति महानदी तीनधारे समष्टिका सभापति निरा प्रधानलाई पनि सम्मान जनाइयो। श्री गणेश सहकारी समितिका सभापति बिनय कुमार छेत्री लगायत पार्टीमा पदाधिकारीहरूको बाहुलीबाट सम्मानित सबै नारीहरूलाई खदा लगाई दिँदै स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा अनुपस्थित रहेका नारीहरूलाई गाउँ घरमा नै गएर स्मृति चिन्ह प्रदान गरी सम्मान गरियो। यस अन्तर्गत तीनधारेको क्रिकेट बजार निवासी 85 वर्षीय बिष्णुमाया उपाध्यायलाई पनि स्मृति चिन्ह प्रदान गरे सम्मानित गरिएको नवराज छेत्रीले जानकारी दिएका छन्।
