खरसाङ : पत्रकार एवम् नेपाली भाषा र साहित्यमा बहुमूल्य योगदान दिने पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती तीनधारेमा सम्पन्न गरियो। तीनधारेको सन्त जोहन चर्चको आयोजनामा 170 औं पादरी गङ्गाप्रसाद प्रधान जयन्ती चर्च भवनमा पालन गऱ्यो। यस अवसरमा पाद्रीको जीवानी स्रष्टा एवम् पूर्व प्रधान अध्यापिका मार्थारानी राईले पठन गरिन् भने कविता पाठ पन्नु लेप्चाद्वारा गरियो। कार्यक्रममा पाद्रीद्वारा रचित भजन सन्त जोहन चर्चको युवाहरुले प्रस्तुत गरेका थिए। पाद्रीको योगदान बारेमा एल्डर मसीह प्रकाश मोक्तानले वक्तव्य राखे। तिनले पादरी गङ्गाप्रसाद प्रधानले नेपाली भाषा र साहित्यमा दिएको योगदानको विषयमा उल्लेख गर्दै तीनधारेमा विगत 2007 देखि लगातार रुपमा पादरी गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती पालन गर्दै आएको जानकारी गराए। कार्यक्रममा स्थानीय मण्डली लगायत मिशन हिमालयको संयोजक रोशन रसाइली पनि उपस्थित थिए।
