तितस लेप्चा स्मृति साहित्य पुरस्कार सोनादाको युवा स्रष्टा नरेश कटुवाललाई प्रदान

खरसाङ : पहिलो तितस लेप्चा स्मृति साहित्य पुरस्कार एवम् तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार अलङ्करण कार्यक्रम आज खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँमा सम्पन्न भयो। डायरी गाउँको गोल घरमा सम्पन्न एक कार्यक्रमबीच पहिलो तितस लेप्चा स्मृति साहित्य पुरस्कार सोनादाको युवा स्रष्टा नरेश कटुवाललाई प्रदान गरियो भने पहिलो तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार गत वर्ष 2021 मा माध्यमिक परीक्षामा अब्बल अङ्क ल्याएर उत्तीर्ण गर्ने सिटोङ दुई ग्राम पञ्चायतको मामरिङ निवासी विद्यार्थी स्वेता छेत्रीलाई प्रदान गरियो। स्रष्टा पुरस्कार अन्तर्गत स्रष्टा नरेश कटुवाललाई खदार्पणसहित शल ओढ़ाएर स्मृति चिन्ह साथै नगदराशि तितस लेप्चाको माता-पिताको बाहुलीबाट प्रदान गरियो। त्यसरी नै शैक्षिक पुरस्कारको रुपमा पनि खदार्पणसहित शल ओढ़ाएर स्मृति चिन्ह र नगदराशि प्रदान गरियो।


पहिलो तितस लेप्चा स्मृति साहित्य पुरस्कार एवम् शैक्षिक पुरस्कार अलंकरण कार्यक्रम पूर्व शिक्षक केबी छेत्रीको अध्यक्षता र सिटोङ साहित्य मञ्चको सभापति एवम् गीतकार एलबी थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा तितस लेप्चाको माता चेमित लेप्चा र पिता रेभरेन्ट दया छिरिङ लेप्चा, प्राध्यापक डा. सुचन प्रधान उपस्थित थिए। हनोक थापा र सञ्जीव छेत्रीद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्वागत सम्भाषण एल्डर युनस लेप्चाले राखेका थिए। रेभरेन्ट पिटर पासाङको शुरुको प्रार्थनाद्वारा थालिएको कार्यक्रमलाई प्रमुख अतिथि वरिष्ठ गीतकार एलबी थापा, विशिष्ट अतिथि प्राध्यापक डा. सुचन प्रधानले वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन तितस लेप्चा स्मृति पुस्तकालयको सचिव भूमिका लेप्चाले राखेका थिए भने अन्तिम प्रार्थना पास्टर शरण शरदले गरेका थिए। कार्यक्रममा सिटोङ वरिपरि लगायत सोनादा, खरसाङ, सालबारी लगायत विभिन्न क्षेत्रबाट मानिसहरू उपस्थित रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *