सोनादा : विश्व धरोहर दार्जिलिङ हिमालयन रेलवेको टोय ट्रेन केन्द्र सरकारको नीजिकरण गर्ने योजनाको प्रतिवादमा आज पहाडका विभिन्न रेलवे स्टेशनहरूमा विरोध प्रदर्शन गर्ने क्रममा सोनादाको रेलवे स्टेसनमा पनि गोजमुमो 2-का सोनादा पचेङ समष्टिबाट विरोध प्रदर्शन गरियो। आज बिहान 11 बजे सोनादाको रेलवे स्टेशन परिसरमा प्रदर्शनकारीहरूले विभिन्न स्लोगन लेखेका प्ला कार्ड लिएर लगभग 2 घण्टासम्म विरोध प्रदर्शन गरे।

यस अवसरमा विरोध प्रदर्शनबारे गोजमुमो 2 सोनादा पचेङ समष्टिका सभापति सोनाम तामाङले दार्जिलिङको गौरव पहाडको गौरव हाम्रो सानो रेललाई केन्द्र सरकारले नीजिकरण गर्ने जुन योजना गरिरहेको छ त्यसको विरोधमा आज सम्पूर्ण जनताको पक्षबाट यहाँ सोनादा रेलवे स्टेशन परिसरमा विरोध प्रदर्शन गरिरहेको बताए। दार्जिलिङको टोय ट्रेन वर्ल्ड हेरिटेजमा सामेल रहेको बताउँदै हालसम्म जस्तो प्रकारले यो टोय ट्रेन चल्दैछ त्यस्तै प्रकारले चल्नुपर्छ भन्ने आफूहरूको माग रहेको तिनले बताए।
