खरसाङ : दार्जिलिङ हिमालयन रेलवेको नीजिकरण गरिरहेको विरोधमा अनितपन्थी गोजमुमोद्वारा खरसाङको तीनधारेमा रहेको डीएचआरको मुख्य कारखाना अघि विरोध प्रदर्शन गरेका छन्। अनितपन्थी तीनधारे महानदी समष्टीको आयोजनामा तीनधारेको रेलवे कारखाना अघि विरोध प्रदर्शन साथै हस्ताक्षर अभियान पनि सम्पन्न गरेका छन्। अनितपन्थी गोजमुमोले दार्जिलिङ हिमायलन रेलवेको निजीकरण गरिरहेको विरोधमा हिज घोषणा गरे अनुसार सुकनादेखि दार्जिलिङसम्मको रेलवे स्टेशनहरूमा विरोध प्रदर्शन गरेका छन्। यसै क्रममा दार्जिलिङ हिमायलन रेलवेको तीनधारेस्थित मुख्य कारखानामा पनि विरोध प्रदर्शन गरे। यसको साथै हस्ताक्षर अभियान पनि गरे। यस अवसरमा अनितपन्थी युवा मोर्चाका खरसाङ महकुमा समितिको सभापति पेबेन्द्र गुरुङ, खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, तीनधारे- महानदी समष्टीको सचिव सञ्जीव लामा, युवा मोर्चाका समष्टी सभापति केवल राई, महकुमा सदस्य अनिल राई, नारी मोर्चाका समष्टी सचिव भगवती प्रधान लगायत अन्यहरू उपस्थित थिए।

यो विरोध प्रदर्शन र हस्ताक्षर अभियानपछि पत्रकारहरूसित कुराकानी गर्दै सञ्जीव लामाले हामी तीनधारेवासीद्वारा डीएचआरको निजीकरणको विरोधमा आज बिहान 11 बजेदेखि 2 बजेसम्म विरोध प्रदर्शन गरेको र यसमा हामीले हस्ताक्षर अभियान पनि गरेको बताएका छन् । तिनले दार्जीलिङ हिमालयन रेलवे हाम्रो पिता खटेर संरक्षण गरेर राखेको बताउँदै अब निजीकरण भएपछि धेरै असुविधा हुने बताएका छन्। उनले भाजपाको सरकार आएपछि देश मात्र होइन हामी गोर्खाहरूलाई पनि लथालिङ्गै पारेको बताए भने आज निजीकरणको विरोधमा हस्ताक्षर अभियान पनि आयोजना गरेको बताएका छन् ।
