सिलगढी : पर्यटन उद्योगलाई फेरि नयाँ प्रकारले शुरूवात गर्न ट्रेन परिसेवा चालू गरिनुपर्ने माग गर्दै आज पर्यटनसित सम्बन्धित संगठनका सदस्यहरूले एनजेपी स्टेशनका एडीआरएमसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। डुवर्स टुरिजम डेभलपमेन्ट फोरम एवम् हिमालयन हस्पिटालिटी एन्ड टुरिजम डेभलपमेन्ट नेटवर्कको तर्फबाट अलिपुरद्वार, मदारीहाट, मालबजार र एनजेपीमा न्यूनतम टुरिस्ट स्पेसल तथा प्यासेन्जर ट्रेन शुरू गर्ने मागलाई लिएर ज्ञापन पत्र चढाएको बताइएको छ। संगठनको तर्फबाट बताएअनुसार ट्रेन परिसेवा शुरू गरे पर्यटन उद्योगसित संलग्न मानिसहरूले केही राहत पाउनेछन्। हिमालयन हस्पिटालिटी एन्ड टुरिजम डेभलपमेन्ट नेटवर्कको तर्फबाट सम्राट सान्यालले बताएअनुसार एनजेपी स्टेशनका एडीआरएमसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएपछि रेलवे अधिकारीहरूले संस्थासित कुराकानी गरेर यसबारे निर्णय लिइने आश्वासन दिएका छन्।