मिरिक : पहाडको विभिन्न क्षेत्रबाट तृणमूल कङ्ग्रेसमा सामेल हुने क्रम लागातार जारी रहेको दावी गर्दै हिल तृणमूल कङ्ग्रेस चेयरमेन एलबी राईले आगामी हप्ता विभिन्न पार्टीहरू त्यागेर ठूलो समुहले समर्थन गर्ने ठोकुवा गरे। तिनले पार्टीको साङ्गठनिक गतिविधिलाई लिएर तृणमूल कङ्ग्रेसले कार्य गरिरहेको बताउँदै चाँडै नै यहाँका रिपोर्टहरू लिएर कलकता जाने जानकारी गराए। गत केही दिन अघि नै आफ्नो कलकता जाने योजना भए तापनि हाल पार्टीका शीर्ष नेतृत्व तथा मन्त्रीहरू विभिन्न ठाउँमा भइरहेको चुनाउलाई लिएर व्यस्त भएको कारण उक्त यात्रा स्थगित गरेको तिनले बताएका छन्। यता पहाडको स्थायी राजनैतिक समधानको विषयमा सोधिएको प्रश्नको जवाफमा तिनले भने, मुख्यमन्त्री ममता ब्यानर्जीले हालै खरसाङमा सम्पन्न भएको प्रशासनिक बैठक अवधि पहाडको समस्यालाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा अनि गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीलाई दिसम्बर महिनासम्म खेस्रा तयार पार्ने निर्देश दिएकी छन्। यसबारे यी दुई पार्टीले नै खेस्रा तयार पारेर मुख्यमन्त्रीलाई बुझाउने छन्।
