सिलगढी (निस) : तृणमूल कङ्ग्रेसको आयोजनामा कोलकातामा भोलि 21 जुलाईको दिन सम्पन्न हुने सहिद दिवस कार्यक्रममा अंश ग्रहण गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा जीटीएका प्रमुख कार्यपाल अनित थापा आज बाघडुग्रा विमानअड्डाबाट विमानमार्फत् कोलकाता प्रस्थान गरे। यस अवधि विमानअड्डा परिसरमा पत्रकारहरूसितको कुराकानीमा तिनले भने, कोलकातमा हुने सहिद दिवस कार्यक्रमको निम्तो पाएर आफू कोलकाता गएको जानकारी गराए। तिनले एउटा प्रश्नको जवाबमा पहाडमा लगभग 23 वर्षको अन्तरालमा हालै सम्पन्न भएको पञ्चायत चुनाउ खुबै शान्ति अनि पारदर्शी रूपमा सम्पन्न भएको छ। तथापि, तिनले आगामी वर्ष हुने लोकसभा चुनाउलाई लिएर केही मन्तव्य पोख्न चाहेनन्। दिल्लीमा सम्पन्न भएको एनडीए-को बैठकमा दार्जिलिङ पहाडबाट गोरामुमो अध्यक्ष मन घिसिङले अंश ग्रहण गरेको बारे तिनको धारणा जान्न चाहँदा अनित थापाले यो तिनको व्यक्तिगत कुरा हो भन्दै यसबारे केही बोल्न चाहेनन्।
