सिलगढी (निसं): उत्तर बंगालको अधिकजसो ठाउँहरू सहित यता सिलगढीमा पनि हाल दिनहुँ उखरमाउलो गर्मीले गर्दा मानिसहरूले निक्कै असुविधाको सामना गर्न परिरहेका छन्। अत्याधिक गर्मीको समयमा पनि विशेष गरेर सहर अनि यसको वरिपरीका क्षेत्रहरूमा वाहनहरूको भीड तथा आवत-जावतलाई सुचारू राख्न तथा कुनै प्रकारको दुर्घटना नहोस् भन्ने ध्येयले खटाइएका ट्राफिक पुलिसकर्मी दिन-रात उखरमाउलो गर्मीको पर्वाह नगरी आ-आफ्नो ड्युटीमा तैनाथ छन्। यसैले ती पुलिस कर्मीहरूको कार्यलाई सराहना गर्नको साथै तिनीहरूको असुविधालाई ध्यानमा राखेर विशेष इन्तजाम गरिएको छ। ट्राफिक पुलिस कर्मीहरूलाई अत्याधिक गर्मीबाट कुनै प्रकारको नोक्सान नहोस् भन्ने प्रमुख उद्देश्य लिएर तिनीहरूलाई आज सनस्क्रीन, सनग्लास, ग्लूकोज तथा ओआरएस उपलब्ध गराइएको छ। आज जंक्शन ट्राफिक गार्डको तर्फबाट एउटा कार्यक्रमको आयोजना गरियो। यस अवसरमा पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदी, डीसीपी ट्राफिक लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए। यस अवधि पुलिस कमिश्नरले ट्राफिक पुलिस कर्मीहरूलाई घाममा लगाउनको लागि सनस्क्रीन, सनग्लास, ग्लूकोज आदि प्रदान गरे। यसवाहेक, विभिन्न ट्राफिक गार्डहरूलाई चिसो पिउने पानीको लागि रेफ्रिजरेटर पनि प्रदान गरे। सडकमा हिडडुल गर्ने तथा वाहन चालकहरूले पनि अब त्यहाँबाट चिसो पानी पिउन सक्नेछन्।