सिलगढी : उत्तर बंगाललाई अलग राज्य बनाउने मागको विरोधमा बङ्गभङ्ग प्रतिरोध मञ्चले आवाज उठाएको छ। उक्त मञ्चमा आठवटा संगठन रहेको छ। आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर बङ्गभङ्ग प्रतिरोध मञ्चका संयोजक सञ्जीव चक्रवर्तीले उत्तर बंगाललाई अलग राज्य बनाउनुपर्ने माग गर्नेहरूलाई मन्त्री पद दिनु उचित नरहेको बताए। चाँडै तिनीहरूले मन्त्री पदबाट राजीनामा दिनुपर्ने तिनले माग गरे। तिनले अझ भने, यदि उत्तर बंगाललाई अलग राज्य अथवा केन्द्र शासित प्रदेश बनाए उक्त क्षेत्रको विकास नभएर अझ यसको महत्व घटेर जानेछ। उत्तर बङ्गाल केन्द्र शासित प्रदेश भएको खण्डमा यहाँका मानिसहरू लोकतान्त्रिक अधिकारबाट वञ्चित हुनेछन्। यसैले यसको विरोध गर्दै आफूहरूले लगातार आन्दोलन जारी राख्ने तिनले बताए। स्मरण रहोस्, अलिपुरद्वारका भाजपा सांसद तथा केन्द्रीय राज्य मन्त्री जन बारलाले हालै उत्तर बंगाललाई अलग राज्य बनाउने मागको उठान गरेका थिए भने तिनको उक्त बयानको भाजपा विधायक शिखा च्याटर्जीले समेत समर्थन जनाएकी थिइन्। यसपछि विभिन्न राजनीतिक दल तथा अन्य संगठनहरूले उक्त मागको विरोधमा आवाज उठाइरहेको छ।