सिलगढी : उत्तर प्रदेश क्राइम ब्राञ्चको टोलीले मोबाइल सर्भिलेन्सको सहयोगमा उत्तर प्रदेशमा डकैती गर्ने एकजना आरोपीलाई सिलगढीबाट पक्राउ गरेको छ। पक्रा परेका आरोपी मालदा निवासी अशोक कुमार मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सिलगढीबाट पक्रा पर्ने आरोपी डकैती मामिलाको 9औँ आरोपी हुन्। उत्तर प्रदेश क्राइम ब्राञ्चको टोलीले आज पक्रा परेका आरोपीलाई सिलगढी अदालतमा पेश गरेपछि ट्रान्जिट रिमान्डमा लिएर उत्तर प्रदेशतर्फ प्रस्थान गरेको बताइएको छ। उत्तर प्रदेश क्राइम ब्राञ्चका निरीक्षक राजीव सिंहले बताएअनुसार गत 31 दिसम्बरको राति उत्तर प्रदेश जिल्ला चन्दौलीस्थित इलाहाबाद ब्याङ्कमा लगभग 6 करोड रुपियाँभन्दा अधिक डकैती भएको थियो। यस घटनापछि विभिन्न ठाउँहरूमा अभियान चलाएर 8 जना आरोपीलाई पक्राउ गरिसकेको थियो। यसपछि मोबाइल सर्भिलेन्सको सहयोगमा उक्त डकैती गुटको 9औँ सदस्य अशोक कुमार मण्डललाई गत राति सिलगढीको दशरथ पल्लीबाट पक्राउ गरेको हो। उक्त आरोपीलाई पक्राउ गर्नमा सिलगढी मेट्रोपोलिटनको डीडी-ले निक्कै सहयोग पुर्याएको तिनले बताए।
