कालेबुङ : कालेबुङ जिल्लाको 37 नम्बर समष्टिबाट 3 सयभन्दा अधिक मानिसहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा लगायत गोजमुमो, गोरामुमो तथा भाजपा पार्टी त्यागेर हिल तृणमूल कङ्ग्रेसमा सामेल भए। कालेबुङ अलगढाको पयुङस्थित सम्पन्न एउटा कार्यक्रममा गत 2 महिना अघि राजीनामा दिएका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 37 नम्बर समष्टिका युवा अध्यक्ष प्रभात तामाङको नेतृत्वमा यी 3 सयभन्दा अधिक परिवारले तृणमूल कङ्ग्रेसको झण्डा समाते।

हिल तृणमूल कङ्ग्रेस जिल्ला प्रभारी तथा राज्यसभा सांसद शान्ता छेत्रीले तिनीहरूलाई खदा लगाइदिएर दलीय झण्डा प्रदान गर्दै आफ्नो पार्टीमा स्वागत जनाए। अप्पर गैरी गाउँ पयुङमा तृणमूल कङ्ग्रेसको कार्यक्रमलाई सुखवीर राईले अध्यक्षता गरेका थिए भने पार्टीका जिल्ला संयोजक सुमन गुरूङ, युवा संयोजक सुमीत छेत्री, महिला कङ्ग्रेस प्रमुख रिङ्जी भुटिया, पे ब्यान्ड कर्मचारी संगठनका अध्यक्ष केसी राई, तोप्गे भुटिया लगायत अन्य उपस्थित थिए।
