सिलगढी : वाहन बिक्री गर्ने नाममा मानिसहरूलाई ठग्ने व्यक्तिलाई प्रधान नगर थाना पुलिसले कोलकाताबाट पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति हिरक सिङ्घोको रूपमा चिन्हित गरिएको छ। प्रधान नगर थाना पुलिसले आरोपी व्यक्तिलाई गत 16 अप्रेलमा कोलकाताको दक्षिण 24 परगना अन्तर्गत नरेन्द्रपुर थानाको सहयोगमा पक्राउ गरेको हो। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत वर्ष 30 जुलाई 2021 मा सालबारी निवासी एकजना व्यक्तिले हिरक सिङ्घो नाम गरेको एकजना व्यक्तिले तिनलाई वाहन बिक्री गर्ने बहानामा लगभग 2 लाख 60 हजार रुपियाँ लिएकोबारे थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले एक महिनाको अवधिमा उक्त वाहन सिलगढीबाट उद्धार गरेपछि आरोपी व्यक्तिको खोजी शुरू गरे। गत 9 महिनादेखि पुलिसले लगातार अभियान चलाएर आरोपी व्यक्तिलाई पक्रिने प्रयास गरे तापनि असफल भएका थिए। अन्ततः मोबाइल टावर लोकेशनको सहयोगमा पुलिसले आरोपी व्यक्तिको फोन ट्रेस गरेपछि तिनी कोलकातामा रहेको थाहा पाए। यसपछि पुलिसको एउटा टोली कोलकाता गएर दक्षिण 24 परगनाको नरेन्द्रपुर थानाको सहयोगमा आरोपी व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई गत 16 अप्रेलमा अदालतमा पेश गरेपछि ट्रान्जिट रिमान्डमा लिएर गत राति सिलगढी आइपुगे। यसपछि आरोपी व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्यो।
