वाहन दुर्घटनामा प्राण गुमाउने फुटबल खेलाडी स्वास्तिका तामाङको निधनले पहाड-डुवर्समा शोकको लहर

सिलगढी: खरसाङको सिपाहीधुरामा सोमबार भएको भयावह वाहन दुर्घटनामा ज्यान गुमाउनेहरूमा प्रतिभाशाली महिला फुटबल खेलाडी स्वास्तिका तामाङ पनि सामेल छन्। कम्प्यूटर प्रशिक्षणको निम्ति खरसाङ गएर फर्किँदा वाहन दुर्घटनामा परेर स्वास्तिकाले ज्यान गुमाइन्। पारिवारिक सूत्रबाट थाहालागे अनुसार, डुवर्सको बीरपाड़ाको बन्दापानी चियाबारीमा जन्मिएकी 24 वर्षीय स्वास्तिका गत केही सालदेखि खरसाङ नजिक टुंगको गैरी गाउँमा बस्थिन्। फुटबल भनेपछि मरिमेट्ने स्वास्तिकाले अल्प समयमै निर्भरयोग्य डिफेण्डरको रूपमा आफ्नो छाप छोड़ेकी थिइन्।


जनक बाल्मिकीको मार्गदर्शनमा टुंगमै नियमित अभ्यास गर्ने स्वास्तिकाले खरसाङ फुटबल एसोसिएशन (केएफए)-को विभिन्न अभ्यास शिविर र टुर्नामेण्टहरूमा पनि हिस्सा लिएकी थिइन्। स्वास्तिकाले सम्पूर्ण पहाड़को साथमा तराई-डुवर्समा पनि आफ्नो उत्कृष्ट प्रदर्शनद्वारा खेलप्रेमीहरूका मन जितेकी थिइन्। आफ्नो फुटबल करियरलाई अघि बढ़ाइरहेकी युवा प्रतिभाशाली खेलाड़ी स्वास्तिकाको निधनले पहाड-डुवर्सको सम्पूर्ण खेल जगतमा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *