सिलगढी : सिलगढी नगरनिगमको 27 नम्बर वार्डमा वाहन धक्काले पिउने पानीको कल भत्किँदा इलाकाका मानिसहरू पिउने पानीको समस्यासित जुझिरहेका छन्। अन्ततः उक्त समस्याको समाधान गर्नको लागि स्थानीय काउन्सिलर प्रशान्त चक्रवर्ती अघि आएका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार केही दिन अघि एउटा वाहनको धक्का लाग्दा पिउने पानीको कल भत्किएको छ। उक्त इलाकामा एउटै मात्र पानीको कल रहेकोले पिउने पानीको लागि इलाकाको मानिसहरू उक्त कलमै निर्भर थिए। हाल पानीको कल भत्केकोले गर्दा इलाकाका मानिसहरू पिउने पानीको समस्यासित जुझिरहेका छन्। यसबारे थाहा पाएपछि आज काउन्सिलर प्रशान्त चक्रवर्ती घटनास्थलमा पुगे। तिनले भने, उक्त इलाकामा यस प्रकारको समस्या समय-समयमा हुने गर्दछ। कुनै समय इलाकाको कल भत्किने गर्दछ भने कुनै समय स्टाम्प पोस्टको फलामको कल चोरी हुने गर्दछ। चाँडै इञ्जिनियरसित कुराकानी गरेर भत्केको स्टाम्प पोस्टलाई नयाँ प्रकारले बनाइने बताए।
