गोरूबथान : पश्चिम बंगाल सरकारद्वारा प्रत्येक वर्ष शिक्षक दिवसको अवसरमा प्रदान गरिने शिक्षा रत्न अवार्डको लागि जीटीए क्षेत्रकै सर्वाधिक विद्यार्थी (लगभग 3 हजार) रहेको गोरूबथानको युद्धवीर उच्चत्तर माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय बराईली चयन गरिएको जानकारी प्राप्त भएको छ। उक्त शिक्षा रत्न अवार्डको लागि कालेबुङ जिल्लाबाट प्रधानाध्यापक सञ्जय बराईली, दार्जिलिङ जिल्लाबाट सोनादा हाई स्कुलका प्रधानाध्यापक कल्याण तामाङको नाम चयन गरिएको छ। हिजो अबेर राति ई-मेल मार्फत् प्रधानाध्यापक सञ्जय बराईलीलाई शिक्षा विभागले जानकारी गराएको थाहा लागेको छ। राज्यका विभिन्न स्कुल, कलेज, युनिभर्सिटीमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षकहरूलाई राज्य सरकारले प्रत्येक वर्ष शिक्षा रत्न अवार्डद्वारा विभूषित गर्ने गर्दछ। 2019 सम्म उक्त पुरस्कार कोलकातामा भव्य समारोहबीच मुख्यमन्त्री, शिक्षामन्त्रीको हातबाट सम्मानित शिक्षकहरूलाई हस्तान्तरण गरिन्थ्यो भने गत 2020 देखि कोरोना महामारीले गर्दा भर्चुअल कार्यक्रम मार्फत् अवार्ड हस्तान्तरण गरिँदै आइरहेको छ। यस वर्ष पनि भर्चुअल कार्यक्रममार्फत् अवार्ड प्रदान गरिने जानकारी प्राप्त भएको छ। आगामी 5 सेप्टेम्बर शिक्षक दिवसको अवसरमा कालेबुङ जिल्ला शासक कार्यालयमार्फत डीएम आर विमला, आईएएसले मुख्यमन्त्रीको भर्चुअल कार्यक्रममा जोडिएर प्रधानाध्यापक सञ्जय बराईलीलाई शिक्षा रत्न अवार्ड 2021 हस्तान्तरण गर्ने जानकारी प्राप्त भएको छ। अवार्डको रूपमा राज्य शिक्षा विभागले प्रशस्ति पत्र, सर्टिफिकेट, टोकन, चेक प्रदान गरेर सम्मान जनाउनेछ। विद्यालयका प्रधानाध्यापकले शिक्षा रत्न अवार्ड जस्तो गरिमामय सम्मान पाउन गइरहेकोमा विद्यालय पक्षले हर्ष प्रकट गर्दै प्रधानाध्यापकलाई बधाई एवम् शुभकामना दिए।
